Thursday, May 11, 2023

आमाको खुट्टा भाँचिएको उपचार गर्न पैसा नभएपछि आफ्नो मिर्गौला बेच्न अस्पताल पुगे नाबालिग छोरा

 


काठमाडौं । बिहारको गया जिल्लाका एक नाबालिग किशोरले आफ्नी आमालाई आफूभन्दा बढी माया र हेरचाह गर्छन्। जब यी नाबालिगकी आमा बिरामी परिन्, तब नाबालिगसँग उनको उपचारको लागि पैसा थिएन। उनका पिता संसारमा छैनन् । घरमा कमाउने कोही छैन । यस्तो अवस्थामा नाबालिगले के गर्लान् ? आमाको उपचारका लागि आफ्नो मिर्गौला बेच्न उनी राँचीको अस्पताल पुगे र ग्राहक खोज्न थाले ।


यस क्रममा उनले ग्राहक पाएनन् तर एक व्यक्ति भेटे जसले उनलाई रिम्स अस्पतालका डा. विकास कुमारलाई भेट्न लगाए। डा. विकासले नाबालिगलाई आफ्नी आमालाई रिम्समा ल्याउन भने, जहाँ उनको नि:शुल्क उपचार हुनेछ।


जानकारीका अनुसार गया जिल्लामा बस्ने नाबालिग दीपांशुका बुवाको मृत्यु भएको छ । आमाले उनको हेरचाह गरेर हुर्काएकी हुन् । बुझ्ने हुने बित्तिकै दीपांशुले आफ्नो खुट्टामा उभिने र आमालाई सहयोग गर्ने निर्णय गरे। यस्तो अवस्थामा उनी राँची आए र यहाँको होटलमा काम गर्न थाले । यहाँ काम गर्दा उनले आमालाई पनि सहयोग गर्थे ।



केही दिन अघि अचानक दिपांशुले आमाको खुट्टा भाँचिएको खबर पाए । उनको उपचारमा पैसा लाग्ने थियो । यसपछि दीपांशु राँचीको रिम्स नजिकैको एक निजी अस्पताल पुगे र आफ्नी आमाको उपचार गराउनको लागि आफ्नो मिर्गौला बेच्नुपर्ने बताए । उनीसँग उपचारका लागि पैसा थिएन । अस्पतालका एक कर्मचारीले रिम्सका डा. विकासलाई चिन्थे। डा. विकास सामाजिक कार्यमा सधैं अगाडि रहन्छन् । उनी न्यूरो सर्जरी विभागमा छन् ।


डा. विकासले ट्वीटरमा बिहारको गया जिल्लाबाट एक नाबालिग बालक आएको बताएका छन् । उनको बुबा छैनन्। रिम्स नजिकैको निजी अस्पतालमा आएर आमाको उपचारका लागि मिर्गौला बेच्नुपर्ने बताए । उनी निकै गरिब छन् । त्यही अस्पतालमा कार्यरत व्यक्तिले उनको परिचय गराए । त्यसपछि डा. विकासले ती किशोरलाई यहाँ आमाको नि:शुल्क उपचार गरिने आश्वासन दिए ।

Labels:

Friday, May 5, 2023

 बङ्गलादेशकाे ढाकाबाट काठमाण्डौका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।


विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो । 


यसअघि उनीहरूलाई एअर इन्डियाको जहाजबाट पठाउने योजना रहेकोमा पछि विमान बङ्गलादेशकै जहाजबाट काठमाण्डौ पठाइएको खबरमा उल्लेख छ



Labels: ,

Thursday, December 15, 2022

अर्जेन्टिना र फ्रान्स खेल्दै, कसले जित्ला तेस्रो पटक विश्वकप? यस्तो छ विगत

 कतारमा जारि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ ।


बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो ।यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो ।



माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् ।यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।

समूह‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग २–१ को हार बेहोर्दै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा पोल्यान्ड र तेस्रो खेलमा मेक्सिकोलाई क्रमशः २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ को नतिजमा हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध नाटकीय जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराएसँगै अर्जेन्टिना८ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले जर्मनीसँग १–० को हार बेहोरेको थियो ।

यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै सानदार सुरुआत गरेको थियो । दोस्रो खेलमा डेनमार्कलाई हराउँदै एक खेल अगावै अन्तिम १६ पुगेको फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलको नतिजमा पराजित भएको थियो ।


समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गरेको फ्रान्सले अन्तिम १६ मा पोल्यान्ड क्वार्टरफाइनलमा इङल्यान्डलाई र सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फाइनल सम्मको यात्रा तय गर्यो ।

यसअघि विश्वकपमा तीन पटक आमनेसामने हुँदा फ्रान्सले दुई खेल जितेको छ भने, अर्जेन्टिनाले एक खेलमा जित निकालेको छ ।अन्तिम पटक २०१८ को विश्वपकमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलको नतिजमा पराजित भएको थियो ।



Labels: ,

Saturday, June 6, 2020

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

काठमाडौं । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएका अधिकारीहरुले जानकारी दिएका छन् । डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरिन पनि पर्न सक्दछ, उनले भने ।
उनले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेल्न लागेको आरोप पनि लगाएका छन् ।


राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुल्ला गरेकोमा डब्लुएचओले असहमति जनाउदै गलत भएको टिप्पणी गरेपछि उनले यस्तो चेनावनी दिएका हुन् ।लकडाउन खुल्ला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको थियो ।
डब्लुएचओले सामाजिक दुरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आएका छन् ।
उनको यही असहमति र फरक मतका कारण तत्कालिन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गरेका थिए। मन्त्रीले लकडाउन लगाउने चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् ।
लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जना सङ्क्रमित भएका छन् भने, ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।
सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको संयुक्त राज्य अमेरिकाले पनि यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गरेको थियो भने डब्लुएचओलाई दिदै आएको सहयोग कटौती गरेको थियो ।
अमेरिकाको निर्णय आएको केही हप्तापछि दोस्रो धेरै संक्रमित र मानवीय क्षति भोगेको ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि विश्वभरी नै नयाँ तरंग सृजना गरेको छ ।
एजेन्सी

Labels:

Sunday, May 31, 2020

भारतमा रहेका नेपाली जमातीमाथि कोरोना फैलाएको भन्दै मुद्दा चलाइयो,

काठमाडौं : नेपालबाट भरत गएका नेपाली जमातीलाई कोरोना फैलाउन आएको आरोप लगाउदैँ भारतले मुद्दा चलाएको छ । भरत गएका नेपाली जमातीहरुले एभिन्युज खबरलाई संम्पर्क गरि आफुहरुको उद्वार गरिदिन समेत आगह गरेका छन् ।


मुस्लिम धार्मिक यात्राका क्रममा भारतको दिल्ली पुगेका बाराका चार र रौतहटका १६ जना जमातीहरु लकडाउनका कारण त्यहीँ रोकिएका थिए । उनीहरुलाई कोरोना फैलाउन आफ्नो देशमा आएको भन्दै त्यहाँको प्रहरीले मुद्दा चलाएको छ । हाल आफूहरु भारतको दिल्ली स्थित नेरैउलाको एक स्थानिय क्वारेन्टिनमा रहेको बारा निजगढबाट गएका जमाती मियाँद आलमले बताए ।
विराटनगरमा भएको धार्मिक कार्यक्रम सकेर फागुन ७ मा भारत पुगेका बारा निजगढका दुई जनासहित २० जना दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएको मियाँद आलमका दाजु लक्की अलिले बताए ।
दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएको र क्वारेन्टिनमा राखेको ६४ दिन बितिसक्दा समेत नेपाली दूतावासले घर फर्काउन पहल नगरेको मियाँद आलमका आमा फरजाना बेगमले बताइन् ।
उनीहरुलाई अपार्टमेन्टमा राखेको बारेमा भारतस्थित नेपाल दूतावास जानकार भए पनि घर फर्काउन पहल नगरेको र घर फर्काउन प्रबन्ध मिलाउँछौं भनी फर्किएका दूतावासका कर्मचारी सम्पर्कविहीन भएको आफन्तको गुनासो छ । रेल सेवा सञ्चालनमा आएसँगै भारतमा रहेका नेपालीहरु घर फर्किने क्रम जारी छ ।
उनीहरु पनि बस रिजर्भ गरेर फर्किने योजनामा थिए तर, अपार्टमेन्टमा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्दा भारतीय सरकारलाई जानकारी नगराएको भन्दै मुद्दा चलाएको पीडितको गुनासो छ । भारतका सुरक्षाकर्मीले उनीहरुको नागरिकता नेपाली दूतावासले मागेको छ भन्दै परिचयपत्र तथा नागरिकता लिएर मुद्दा दर्ता गरेको पीडितले जानकारी दिएका छन् । घरबाट तीन महिनाअघि त्यहाँ पुगेका उनीहरु दिल्लीको नजामुद्धिन मरकजमा बसेका थिए ।
उनीहरुसहित सोही मरकजमा अध्ययन गर्न बसेका १३ जना बिद्यार्थीहरुलाई समेत क्वारेन्टिनमा राखिएको थियो । जसमा रौतहटका एक, काठमान्डौंका ३, पोखराका ३, गोरखाका २, कटारीका ३ र सिराहका १ बिद्यार्थी रहेका छन् । अहिले सबैविरुद्ध मुद्दा दर्ता गरी कारर्बाही गर्ने तयारी भारतीय प्रहरीले गरेको छ । त्यहाँ बसेकामा कोरोना संक्रमण देखिएपछि त्यहाँका सबैलाई दिल्ली सरकारले अपार्टमेन्टमा राखेको थियो ।

Labels:

Friday, May 29, 2020

डब्ल्युएचओको चेतावनी : ‘कोरोना भाइरसको अर्को एउटा झट्काका लागि तयार रहनुस्’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको अर्को झट्काका लागि तयारी अवस्थामा रहनुपर्ने चेतावनी दिएको छ । संगठनका एक वरिष्ठ अधिकारी डा. डेबिड नबारोले कोरोना भाइरसको अर्को एउटा झट्काका लागि तयारी रहनुपर्ने चेतावनी दिएका छन् ।


बिबिसीका अनुसार उनले भनेका छन्, ‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, त्यती धेरै कोरोना भाइरस संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ । यसका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ ।’

क्रोएशियाले भने १० युरोपली देशका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको छ । पर्यटन क्षेत्रको प्रवर्धनका लागि यस्तो निर्णय गरेको क्रोएशिया सरकारले जनाएको छ ।
संसारका विभिन्न देशले लकडाउनमा खुकुलोपन अपनाउन थालेपछि डब्ल्युएचओले चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच कोरोना भाइरसबाट ल्याटिन अमेरिकी देश ब्राजिलमा पछिल्लो २४ घन्टामा २६ हजार ४ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी करिब ६० लाख व्यक्ति कोरोना भाइरसद्वारा संक्रमित भइसकेका छन् । तीमध्ये तीन लाख ५९ हजारको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।

Labels:

Saturday, May 23, 2020

कोरोना भाइरस: चीनमा पहिलो पटक नयाँ सङ्क्रमित थपिएनन्

चीनमा गत डिसेम्बरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएयता पहिलो पटक शुक्रवार २४ घण्टामा कुनै नयाँ सङ्क्रमित भेटिएन्।
त्यहाँको न्याश्नल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड-१९ का कारण कसैको पनि मृत्यु नभएको जनाएको छ।

चिनियाँ शहर वुहानमा पहिलो सङ्क्रमण पुष्टि भएयता संसारभर ५० लाख मानिसहरू सङ्क्रमित भएका छन् भने ३३८,००० जनाको मृत्यु भएको छ।
चीनमा मात्रै ८४,००० भन्दा बढी सङ्क्रमित भएक र ४,६०० जनाको मृत्यु भएको छ।
वुहान रहेको प्रान्त हुबेमा सरकारले गरेको कडा लकडाउनका कारण कोरोनाभाइरस चीनको अन्य भागमा धेरै फैलिन नपाएको बताइन्छ।
विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अमेरिका महामारीको नयाँ केन्द्रविन्दु बनेको बताएको छ। ब्रजिल र मेक्सिकोमा हालैमा दिनमा नयाँ सङ्क्रमण ह्वात्तै बढेको छ।
ब्रजिलमा ३३०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ जुन विश्वमै अमेरिका पछि सबैभन्दा बढी सङ्क्रमण भएको देश हो।


Presentational white space

Labels:

Friday, May 22, 2020

पाकिस्तानको विमान दुर्घटनामा बचेका यात्रु भन्छन्: मैले चारैतिर चिच्याहट सुनेँ

शुक्रवार पाकिस्तानको कराचीमा भएको विमान दुर्घटनामा परेर बाँचेका एक यात्रुले आफूले आगो मात्रै देखेको बताएका छन्।
मुहम्मद जुबैर दुर्घटनामा बाँचेका कम्तीमा दुईमध्ये एक यात्रु हुन्।
पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा पीआईएको एअरबस ए३२० विमान कराचीको आवासीय क्षेत्रमा खसेको थियो।
सिन्ध प्रान्तका अधिकारीहरूले दुर्घटनामा ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन तर नागरिक उड्डयनका एक अधिकारीले समाचारसंस्था रोयटर्सलाई विमानको पाङ्ग्रा बाहिर निस्कन नसकेको बताएका छन्।
सामाजिक सञ्जालमा हालिएका तस्बिरहरूमा दुवै इञ्जिनको तल्लो भाग घस्रिएको देखिन्छ र पाङ्ग्रा भने देखिएको छैन।
कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो।

जुबैर कसरी बचे?

पीके ८३०३ उडानमा ९१ यात्रु र आठ जना चालकदलका सदस्य थिए। तीमध्ये धरै आइतवारको इदको बिदाका लागि यात्रा गरिरहेका परिवार थिए।
विमान दिउँसो २:३० मा कराचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयासमा दुर्घटना भएको थियो।
सामान्य चोटपटक मात्रै लागेका जुबेरले विमानले एक पटक उत्रने असफल प्रयास गरेको र त्यसको १०-१५ मिनेटपछि दुर्घटनामा परेको बताएका छन्।
"कसैलाई पनि विमान दुर्घटनामा पर्दैछ भन्ने थाहा थिएन; उनीहरूले विमानलाई सामान्य तरिकाले उडाइरहेका थिए," उनले भने।
दुर्घटनामा उनी बेहोस भए। होसमा आएपछि उनले भने, "मैले चारैतिरबाट चिच्याहट सुनेको थिए। बालबालिका र वयस्यहरू। मैले आगो मात्रै देखेँ। मैले कोही मानिस देखिनँ, मात्रै चिच्याएको सुनेँ"।
"मैले सिटबेल्ट खोलेँ र केही उज्यालो देखेँ। म प्रकाशतर्फ गएँ। सुरक्षित हुनलाई मैले १० फिट हामफाल्नुपर्यो," उनले भने।
दुर्घटनास्थल

दुर्घटना कसरी भयो?

विमान धावनमार्ग नजिकै हुँदा मोडेल कोलोनीको घरमा ठोक्किएको थियो।
टीभी दृश्यमा उद्धारकर्ताहरूले सघन आवासीय क्षेत्रको बाटोमा रहेका विमानमा टुक्राहरू पन्छाएको देखिन्छ। केही कारहरूमा आगो लागेको पनि देखिन्छ।
मोहम्मद उजैर खानले बीबीसीलाई आफूले ठूलो आवाज सुनेर घर बाहिर निस्केको बताए।
"लगभग चार घरहरू ध्वस्त भएका थिए र त्यहाँ निकै धुँवा र आगो थियो," उनले भने।
"उनीहरू झन्डै मेरो छिमेकी थिए। म त्यो कस्तो डरलाग्दो दृश्य थियो भनेर भन्नै सक्दिन।"
पाकिस्तानी सञ्चारमाध्यमले विमानचालक र एअर ट्राफिक नियन्त्रकबीच भएको भनिएको कुराकानी प्रकाशन गरेका छन्।
त्यसमा विमानचालकले विमानले इञ्जिन गुमाएको सुन्न सकिन्छ। त्यसपछि एअर ट्राफिक नियन्त्रकको आपत्‌कालीन अवतरण गर्ने हो भन्ने प्रश्नको जवाफमा विमानचालकले 'मेडे, मेडे, मेडे' भनेको सुन्न सकिन्छ।
तीनपटक मेडे शब्द भन्नुको अर्थ आपत्‌कालीन अवस्था भन्ने बुझिन्छ।
पीआईएका अनुसार सो विमान सन् २०१४ मा किनिएको र गत नोभेम्बरमा सुरक्षा परीक्षण गरिएको थियो।
मृतक को हुन्?
स्थानीय अधिकारीहरूले ९७ जनाको मृत्यु भएको बताए पनि तीमध्ये कति यात्रु भन्ने खुलाएको छैन।
ब्याङ्क अफ पन्जाबका अध्यक्ष जफर मसुद उक्त विमानका एकजना यात्रु थिए र उनी बाँच्न सफल भएका छन्। बाँच्न सफल दुवै जना विमानको अघिल्लो भागमा थिए।
अन्य केही यात्रुहरु बाँचेको विवरण आए पनि त्यसको पुष्टि भएको छैन।
टिभी च्यालन २४ न्यूजका पत्रकार अन्सर नक्बी पनि यात्रुको सूचीमा छन्।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू उक्त दुर्घटनाबाट "स्तब्ध र दु:खी" भएको बताउँदै यस विषयमा तत्काल अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएका छन्।

पाकिस्तानको हवाई सुरक्षाको अवस्था

विभिन्न समयमा विभिन्न विमान दुर्घटनाहरूका कारण पाकिस्तानमा हवाई सुरक्षा अवस्था बलियो छैन
सन् २०१० मा एउटा निजी कम्पनी एअरब्लुद्वारा सञ्चालित एउटा विमान इस्लामावाद नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५२ जनाको ज्यान गएको थियो। जुन पाकिस्तानको इतिहासमा नै सबैभन्दा खराब विमान दुर्घटना थियो।
सन् २०१२ मा पाकिस्तानको भोजा एअरले सञ्चालन गरेको एउटा बोइङ् ७३७-२०० विमान खराब मौसमका कारण रावलपिण्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ जना चालकदलका सदस्य सबै मारिएका थिए।
र सन् २०१६ मा पाकिस्तान अन्तर्राष्ट्रिय विमानसेवाको एउटा विमान उत्तरी पाकिस्तानबाट इस्लामावादतर्फको उडानमा रहँदा आकाशमा नै विस्फोट भएर ४७ जनाको ज्यान गएको थियो।

Labels:

चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप ‘प्रभावकारी’

चीनमा निर्मित खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित देखिएको अनुसन्धानकर्ताले बताएका छन्।
खोपको अनुसन्धानमा संलग्नहरुले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल देखिएको र सुरक्षित पनि रहेको उल्लेख छ।

चीनका विभिन्न प्रयोगशालामा गरिएको पहिलो चरणको ट्रायलको नतिजासहितको रिपोर्ट द ल्यानसेट जर्नलमा प्रकाशित भएको छ । सो प्रतिवेदन अनुसार चीनमा बनेको सो खोपले सकारात्मक नतिजा दिएको छ।
१८ देखि ६० वर्षसम्मका १०८ जनामा भएको पहिलो चरणको परीक्षणको प्रतिवेदन सार्वजनिक भएको हो।
खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोशिका बनेको देखिएको छ । खोप दिएको २८ दिनमा प्रतिरोधात्मक क्षमताका लागि आवश्यक पर्ने एन्टिबडी उच्च तहमा पुग्ने देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
बोस्टनमा रहेको बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका डा. डान बारोउचले भनेका छन्, ‘यो अति सकारात्मक नतिजा हो, तर अझै अनुसन्धानको खाँचो छ । यो तथ्यांक प्रारम्भिक मात्रै हो । समग्रमा भन्दा अहिलेलाई यो अति सकारात्मक खबर हो ।’
खोपको पहिलो चरणको परीक्षणको मुख्य उद्देश्य मानिसलाई दिनु सुरक्षित छ कि छैन भन्ने थाहा पाउनु हो । तर सम्भावित खोपको पहिलो चरणकै परीक्षणमा सुरक्षित देखिनुका साथै कोरोना भाइरसको संक्रमण रोक्न सफल हुने देखिएको हो । खोपको प्रभावकारिता थप स्थापित गर्नका लागि हजारौँ मानिसमा परीक्षणको खाँचो पर्छ ।
अहिले विश्वभर कोरोना भाइरसको महामारी छ, संक्रमणबाट जोगिनका लागि धेरै देशमा लकडाउन लागु गरिएका छन् । केही देशमा लकडाउन खुकुलो बनाउन थालिए पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित स्वास्थ्य विज्ञहरुले पुनः संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।
खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र विकल्प ठानिएको छ । विश्वभर हाल कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विभिन्न टिमहरु सक्रिय छन् ।
गएको सोमबार अमेरिकी बायोटेक कम्पिनी मोदेर्नाले आफूले बनाएको खोप सुरक्षित र कोरोना भाइरसविरुद्ध प्रभावकारी रहेको देखिएको बताएको थियो ।
डा. डान बारोउचसहितको टोलीले बाँदरमा गरेको परीक्षणमा चीनको बेइजिङ्गमा रहेको सिनोवाक बायोटेक कम्पनीले निर्माण गरेको खोप दिएपछि कोरोना भाइरसको संक्रमण नभएको देखिएको थियो ।
अहिले मानिसमा सो खोप सुरक्षित र प्रभावकारी दिएको प्रतिवेदनमा ल्यानसेटमा प्रकाशित भएको हो।
सो खोप एडी५ नाम गरेको भाइरसबाट बनाइएको वैज्ञानिकले बताएका छन् । सो भाइरसलाई मानव कोशिकासँग सहकार्य गर्नका लागि जेनेटिक इन्स्ट्रक्सन दिएर परिमार्जन गरिएको उल्लेख छ ।
कोशिकाले कोरोना भाइरस प्रोटिन बनाउन थालेपछि मानिसको प्रतिरोधात्मक क्षमताले प्राटिनलाई पत्ता लगाएर आक्रमण गर्न थालेको प्रतिवेदनमा उल्लेख छ ।
एडी५ ‘कोल्ड भाइरस’ हो, धेरै मानिस यो भाइरसको सम्पर्कमा आएका हुन सक्छन् । अनुसन्धानमा संलग्न आधा मानिसलाई एडी५ का लागि शक्तिशाली एन्टिबडी दिएपछि मात्रै खोप दिइएको थियो ।
ती मानिसको प्रतिरोधात्मक क्षमता बढ्न नसक्ने र खोपको प्रभाव स्पष्ट रुपमा कम देखिने गरेको डा. कर्स्टन लाइकले बताइन् । उनी युनिभर्सिटी अफ मेरिल्याण्डकी भाइरोलोजिस्ट हुन् र कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धानमा उनले नेतृत्व गरिरहेकी छन् ।
चीनका अनुसन्धानकर्ताहरुले पनि एडी५ भाइरसको एन्टिबडी रहेका व्यक्तिमा सो खोप दिएपछि बलियो प्रतिरोधात्मक क्षमता बन्ने सम्भावना कम देखिएको बताएका थिए । एडी५ को एन्टिबडी नदिइएका व्यक्तिमा भने भाइरसको प्रभाव अति राम्रो र उत्साहजनक देखिएको छ ।
नेशनल स्कूल अफ ट्रफिक मेडिसिनको बेलर कलेज अफ मेडिसिनका डा. पिटर होटेजले भनेका छन्, ‘एडी५ भएका व्यक्तिमा एन्टिबडी दिनु पर्ने हुँदा यो खोपको प्रयोग एडी५ नभएका व्यक्तिमा मात्रै उपयुक्त हुने देखियो ।’
यस्तै यो खोपको प्रभाव युवामा बढी राम्रो देखिएको छ । डा. लाइकका अनुसार ४५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा भन्दा त्यो भन्दा कम उमेरका व्यक्तिमा खोपको प्रभाव राम्रो देखिएको छ ।
खोपको अनुसन्धान अझै बिस्तारित रुपमा गर्नु पर्ने अनुसन्धानकर्ताले बताएका छन् । बिस्तारित अनुसन्धानबाट मात्रै थप स्पष्ट हुन सकिने बताउँदै उनीहरुले प्रारम्भिक नतिजामा निश्चित अवस्था बाहेक खोपको प्रभाव उत्साहजनक देखिएको उल्लेख गरेका छन् ।
(यो सामग्री द न्यूयोर्क टाइम्सको सहयोगमा तयार पारिएको हो ।)

Labels:

Wednesday, May 20, 2020

भारतीय मिडिया मनीषा बिरुद्ध, सामाजिक सञ्जालमा मनीषाको वाहवाही

काठमाडौँ/नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि केही भारतीय सञ्चारमाध्यम अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएका छन्। नेपालका सामाजिक मिडियामा भने उनको पक्षमा बोल्नेहरुको संख्या बढिरहेको छ।
मे १८ मा नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको भूभाग नेपालको रहेको नक्सा सार्वजनिक गरेपछि अभिनेत्री मनिषा कोइरालाले सरकारको यो निर्णयको समर्थन गरेकी थिइन्। विवादास्पद नक्शालाई समर्थन गरेको भन्दै भारतीर सञ्चारमाध्यमले अभिनेत्रीको विरोध गरिरहेका छन्।
भारतीय सञ्चारमाध्यममा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीको ट्वीटको जवाफ दिएको विषयलाई औँल्याएका छन्। उनले उक्त ट्वीटमा नेपाल, भारत र अर्को छिमेकी मूलुक चीनबीच शान्तिपूर्ण र सम्मानजनक संवाद होस् भन्ने अपेक्षा गरेकी छन्।
ट्वीटमा उनले लेखेकी छन्, ‘हाम्रो सानो मूलुको अस्तित्व कायम राखिराख्नुभएकोमा धन्यवाद ! आगामी दिनमा हामी नेपाल, भारत र अर्को छिमेकी मूलुक चीनबिच शान्तिपूर्ण र सम्मानजनक संवाद होस् भन्ने अपेक्षा राख्छौ।’
उनको यो ट्वीट १२ सय भन्दा धेरै पल्ट रिट्वीट भएको छ ।
नेपालमा जन्मिएकी अभिनेत्रीले भारतलाई आफ्नो कर्मथलो बनाएकी छन्। उनले भारतीय चलचित्र क्षेत्रमा एक समय राज गरेकी थिइन्। केही वर्ष अगाडि उनलाई पाठेघरको क्यान्सर भएको थियो। उनको उपचार सफल भइसकेको छ। क्यान्सरको उपचारपछि उनी पुन: अभिनयमा फर्किएकी थिइन्।Fa

Labels:

Monday, May 18, 2020

कोरोना भाइरस खोपको पहिलो मानवीय परीक्षण सकारात्मक

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ।
पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’
कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ।
यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ।
कुनै पनि भाइरसविरुद्ध खोप तयार पर्दा त्यसले भाइरस फैलिनबाट रोक्छ कि रोक्दैन भन्ने महत्वपूर्ण हुन्छ। यस आधारमा यो खोपको पहिलो मानवीय परीक्षणलाई सकारात्मक मानिएको छ।
कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ। दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ। त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ।
अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ।
यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने मोडर्नाका प्रमुख मेडिकल अधिकृत डा. ताल ज्याक्सले बताएका छन्।
‘त्यति बेलासम्म कति डोज तयार हुन्छ यकिन छैन,’ उनले भने, ‘हामी जतिसक्दो धेरैलाई पुग्ने गरी उत्पादन गर्ने तयारीमा छौं।’
अहिलेसम्म कुनै पनि उपचार वा खोपले कोरोना भाइरस निको पार्ने पुष्टि भएको छैन। अमेरिका, युरोप र चीनका दर्जनौं कम्पनी खोप बनाउने प्रतिस्पर्धामा छन्। यसका लागि उनीहरूले फरक–फरक विधि अपनाइरहेका छन्। कतिपयले मोडर्नाकै विधि प्रयोग गरेका छन्।
उत्पादक कम्पनी मोडर्नाले यो खोप मुसाहरूमा पनि परीक्षण गरेको छ। यस क्रममा सबभन्दा पहिला केही मुसालाई खोप लगाइएको थियो। त्यसपछि तिनै मुसालाई कोरोना भाइरसबाट संक्रमित गराइयो।
यसरी संक्रमित गराउँदा मुसाको जीउभरि भाइरस फैलिनबाट रोकिएको थियो। खोप लगाइएका मुसामा पनि भाइरससँग लड्न एन्डिबडी विकास भएको कम्पनीले जनाएको छ।
कम्पनीले खोपको तीनवटा डोज परीक्षण गरेको छ — न्यून, मध्यम र उच्च। प्रारम्भिक नतिजा न्यून र मध्यम डोजको हो।
कम्पनीका अनुसार खोप लगाइएकामध्ये एक जनामा थोरै ‘साइडइफेक्ट’ देखिएको थियो। खोप लगाइएको पाखुराको भाग रातो भएर आएको थियो।
उच्च डोजको खोप लगाइएका तीन जनालाई भने ज्वरो आउनुका साथै जीउ र टाउको दुख्ने लक्षण देखिएको डा. ज्याक्सले बताए। ‘यी लक्षण केही दिनमै हराएका थिए,’ उनले भने।
उनका अनुसार उच्च डोजको खोप आगामी परीक्षणमा प्रयोग गरिने छैन। यसको कारण साइडइफेक्ट भने होइन। पहिलो चरणको परीक्षणका आधारमा कम डोजको खोपले नै सकारात्मक नतिजा देखाएकाले उच्च डोज आवश्यक नभएको कम्पनीले जनाएको छ।
‘थोरै डोजले नै राम्रो काम गरेको अवस्थामा उच्च डोज परीक्षण गर्नु आवश्यक देखिएन,’ डा. ज्याक्सले भने, ‘डोज जति थोरै भयो उति धेरै खोप तयार पार्न सकिन्छ।’
यो परीक्षणसँगै मोडर्नाको सेयर मूल्य बढेको छ। कम्पनीले सोमबार प्रारम्भिक नतिजा सार्वजनिक गरेलगत्तै यसको सेयर मूल्य २३ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।
संसारभरि ४८ लाख ५५ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने ३ लाख १७ हजारभन्दा बढीको ज्यान गइसकेको छ। १८ लाख ८७ हजारभन्दा बढी निको भएका छन्।

Labels:

सामाजिक दुरी कायम गराउन पाण्डासँग डिनर

एजेन्सी । कोरोना भाइरस महामारीपछि कतिपय देशमा होटल रेस्टुरेन्ट आंशिक रुपमा खुल्न थालेका छन् ।
त्यस्तै थाइल्याण्डमा खुलेको रेस्टुरेन्टहरूले एउटा टेबुलमा एक पटकमा एकजना मात्रै ग्राहकलाई सर्भ गर्न पाउनेछन् । अर्थातसँगै आउने दम्पत्ति वा परिवारबाहेकका मानिसहरूलाई एउटै टेबलमा बसाल्न पाइँदैन ।
राजधानी बैङ्कमा रहेको एउटा भियतनामी रेस्टुरेन्टले अनौठो उपाय अपनाएको छ । ग्राहकको एक्लोपना भगाउन तथा रमाइलो प्रदान गर्नका लागि उक्त रेस्टुरेन्टले ग्राहकहरूलाई पाण्डासँगै बसेर डिनर गर्न पाउने व्यवस्था गरेको छ ।
Maison Saigon नामक उक्त रेस्टुरेन्टले हरेक टेबुलमा हुने दुईवटा आमनेसामने कुर्सीहरूमध्ये एउटामा ठूलो आकारको पाण्डाको डल राखिदिएको छ ।
त्यसैले रेस्टुरेन्टमा आउने ग्राहकहरूले आफ्नै टेबुलको ठ्याक्कै सामुन्नेको कुर्सीमा साँच्चिकै जस्तो लाग्ने पाण्डालाई हेर्दै भोजन गर्न पाउनेछन् । यसबाट आफ्नो सामुन्नेको कुर्सी खाली भएको नरमाइलो अनुभूति ग्राहकहरूलाई नहुने र पाण्डाको मुखाकृति हेर्दा रमाइलो पनि महसुस हुने दाबी रेस्टुरेन्टका मालिकको छ ।
हुन पनि रेस्टुरेन्टको यो काइदा ग्राहकहरूले निकै रुचाएका छन् । रेस्टुरेन्टमा पाण्डासँग बसेर खानका लागि उल्लेख्य मात्रामा ग्राहकहरू जाने गरेका छन् ।

Labels:

चीनले भारतीय सेनामाथी लगायो यस्तो आरोप

बेइजिङ, जेठ ५/अक्साइ चीनको गलवान उपत्यकामा मे महिनाको सुरुदेखि नै भारतीय सेना आफ्नो भूमिका घुस पैठ गर्न थालेको चीनले आरोप लगाएको छ।
सो क्षेत्रमा भारतीय सेनाले चिनियाँ सेनाको गस्तीमा अवरोध गर्न अवैध संरचना निर्माण गरेको पनि सैन्य स्रोतलाई उल्लेख गर्दै द ग्लोबल टाइम्सले जनाएको छ।

त्यसैले सो क्षेत्रमा चिनियाँ सेनाले आवश्यक निगरानी र गस्ती बढाएको जनाइएको छ।
दुई मुलुकबीच द्व. न्द्व बढाउन भारतीय पक्षले अवैध किल्लाबन्दी गरेको चीनको भनाइ छ।
‘भारतीय पक्षको यस्तो गतिविधिले चीन र भारतबीच सीमाका बारेमा भएका सम्झौताको गम्भीर उल्लंघन गरेको छ। यसले चीनको भौगोलिक सार्वभौकितामा ह स्त क्षेप गरेको छ र दुई देशबीचको सैन्य सम्बन्धलाई क्षति पुर्‍याएको छ,’ चिनियाँ सैन्य स्रोतले भनेको छ।
भारतको त्यस्तो गतिविधिलाई रोक्न आवश्यक कदम चालिएको पनि जनाइएको छ।
१० दिनअघि सिक्किम सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच मु क्का मु क्की हुँदा दुवै पक्षका केही सैनिक घाइते भएका थिए।
भारत र चीनबीच लामो समयदेखि सीमा समस्या बल्झिँदै आएको छ। एजेन्सी

Labels:

विकासउन्मुख राष्ट्रलाई २ अर्ब डलर अन्तर्राष्ट्रिय सहायता दिन्छौं

काठमाडौं, जेठ ५
चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसले पुर्याएको क्षतिसँग लड्न दुई अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय सहायता प्रदान गर्ने घोषणा गरेका छन्।

कोरोनाका कारण विश्वभरका राष्ट्रको आर्थिक र सामाजिक विकासमा धक्का पुगेको छ।
विकासउन्मुख राष्ट्र कोरोनाबाट झनै प्रभावित भएकाले यस सहायता विशेषगरी त्यस्ता राष्ट्रले पाउने सीले बताएको सिन्ह्वाले जनाएको छ।
सीले ७३ औं विश्व स्वास्थ्य सम्मेलनका क्रममा कोरोना भाइरसको विषलाई अतिरन्जित नबनाउन र यसबारेमा वैज्ञानिक अध्ययन जरुरी भएको पनि बताएका थिए।
पछिल्लो समय अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको हुनसक्ने आशंका व्यक्त गर्दै आएको छ।

Labels:

Sunday, May 17, 2020

७१ वर्षीय भाइरोलोजिस्टको अनुभव : इबोला र एचआईभीसँग लडेँ, तर कोरोनासँग‍...


७१ वर्षीय भाइरोलोजिस्टको अनुभव : इबोला र एचआईभीसँग लडेँ, तर कोरोनासँग‍...

'जबसम्म खोपको विकास हुँदैन तबसम्म हामी सामान्य रुपमा बाँच्न सक्दैनौं । यो पिटर पिअट भाइरोलोजिस्ट हुन् । उनी लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका निर्देशक हुन् । उनलाई मार्चको मध्यतिर कोभिड–१९ संक्रमण देखियो । उनले एक साताजति अस्पतालमा बिताए । उनी हाल लन्डनस्थित आफ्नो घरमा आराम गरिरहेका छन् ।
भाइरोलोजिस्ट पिटर पिअट तस्बिर : साइन्स म्यागजिन


मे २ मा उनीसँग साइन्स म्यागजिनका लागि लिइएको अन्तर्वार्ताको सारांश :
बेल्जियममा हुर्किएका उनी सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउनेमध्ये एक हुन् । उनले आफ्नो जिन्दगीको धेरै समय संक्रामक रोगसँग लडेर बिताए । सन् १९९५ देखि २००८ सम्म उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अनन्तर्गत एचआईभी एड्स कार्यक्रमको नेतृत्व लिएका थिए । हाल उनी युरोपियन प्रेजिडेन्ट उरसुला भोन डेर लेयनका कोरोना भाइरस सल्लाहकार छन् । पोइट भन्छन्, 'कोरोना भाइरस मेरा लागि जीवन परिवर्तन गर्ने अनुभव हो ।'
शंका त लागेको थियो, परीक्षण गर्दा कोरोना पोजिटिभ नै देखियो । त्यसपछि म घरमा गेस्ट रुमको सेल्फ आइसोलेसनमा बसेँ । तर ज्वरो कम भएन । म अहिलेसम्म सिकिस्त बिरामी परेको छैन । पछिल्लो १० वर्षमा एक दिन पनि बिरामी बिदा लिएको छैन । म स्वस्थ्य जीवन बाँच्छु र नियमित हिँड्ने गर्छु । मेरा लागि एउटा मात्र जोखिमको कारण भनेको मेरो उमेर थियो । म ७१ वर्षको भएँ । सकारात्मक विचार राख्ने भएकाले यो रोगविरुद्ध लड्न सक्छु भन्ने आँट आयो । थकान र ज्वरो नघटेपछि अप्रिल १ मा डाक्टर साथीले अस्पताल जान सुझाव दिए । जँचाउँदा अक्सिजनको अभाव देखियो । मलाई भने श्वासप्रश्वासमा समस्या महसुस भएको थिएन । फोक्सोको परीक्षण गर्दा कडा खालको निमोनिया 'ब्याकटेरियल निमोनिया' देखियो । त्यही सामान्यतया कोरोनाको लक्षण हो ।१९ मार्चका दिन मलाई एक्कासि उच्च ज्वरो आयो । अत्यधिक टाउको र कपाल दुख्यो । यो अचम्मलाग्दो पीडा थियो । खोकी नलागे पनि महसुसचाहिँ हुन्थ्यो । मैले घरमै बसेर टेलिवर्किङबाट काम गरिरहेँ , किनकि म 'वर्काहोलिक' हुँ । पछिल्लो वर्षदेखि हामीले यसरी टेलीबाटै काम गर्ने गरेका छौं ताकि धेरै यात्रा गर्न नपरोस् । त्यो लगानी अहिले कोरोना भाइरसको बेला काम लागिरहेको छ ।

जब तपाईं थकित महसुस गर्नुहुन्छ, आफ्नो भाग्यलाई पछि छोडिदिनुहुन्छ । पूर्ण रुपमा नर्सिङ स्टाफसामु आत्मसमर्पण गर्नुहुन्छ । हरेक दिन तपाईंको उही रुटिन हुन्छ- सिरिन्ज लगाउनु र यसले काम गरोस् भनेर आशा गर्नु । प्राय: सक्रिय रहने कोसिस गर्थें तर म बिरामी न थिएँ ।

मलाई भेन्टिलेटरमा तुरुन्त राखिनेछ भनेर एकदमै चिन्तित थिएँ । मैले कतै पढेको थिएँ, मेरो जस्तो अवस्थाको व्यक्तिमा मृत्युको सम्भावना बढी हुन्छ । त्यसैले केही डराएको थिएँ तर भाग्यवश चिकित्सकहरुले मलाई अक्सिजन मास्क लगाइदिए । त्यसले काम गर्‍यो । म आइसोलेसन रुममा नै रहेँ, इन्टेन्सिभ केयर डिपार्टमेन्टमा ।
मलाई एकनासले थकावट महसुस भइराख्थ्यो तर पनि जहिल्यै ऊर्जाले भरिएको हुन्थेँ । म त्यो महसुस कहिल्यै बिर्सिन सक्दिनँ । यसैबीच मलाई कोरोना नेगेटिभ देखियो तर पनि अस्पताल भर्ना हुनुपर्‍यो । भाइरस हराइसक्छ तर पनि त्यसको असर हप्तौंसम्म रहिरहन्छ ।

ती दिनरात एकदम पट्यारलाग्दा थिए । एक्लो महसुस हुन्थ्यो । कसैसित बोल्ने ऊर्जा हुँदैनथ्यो । केही साता कानेखुसी गरेर मात्र बोल्न सक्थेँ । अझै पनि साँझ मेरो बोल्ने शक्ति कम हुन्छ । मलाई एउटा प्रश्नले भने सधैं सताउँथ्यो- म यो संकटबाट बाहिर निस्केँ भने कस्तो हूँला ?
मैले एक बेघर मानिस, कोलम्बियन क्लिनर र एक बंगलादेशका व्यक्तिसँग रुम सेयर गरेको थिएँ । उनीहरु सबै डायबेटिजका बिरामी थिए ।
विभिन्न भाइरससँग ४० वर्षभन्दा बढी लडिरहँदा म संक्रमणको विज्ञ नै भइसकेको छु । म खुसी पनि छु किनकि मलाई इबोला भएन । ब्रिटिस अस्पतालमा कोभिडको उपचार हुँदा पढेको थिएँ, ३० प्रतिशतको मृत्यु हुने सम्भावना भनेर । यो मृत्युदर सन् २०१४ मा वेस्ट अफ्रिकामा देखिएको इबोलाको जस्तै थियो । यसले गर्दा झन् डर हुने रहेछ, इमोसनले जित्ने रहेछ । मैले आफ्नो जिन्दगीभर भाइरसविरुद्ध लडेँ तर अन्त्यमा उनीहरुले मसँग बदला लिए । एक साता त जीवन-मरणको दोसाँधमा बाँचेजस्तो महसुस गरेँ ।
***
अस्पतालको बसाइपछि म डिस्चार्ज भएँ । घर जाँदा सार्वजनिक यातायातको प्रयोग गरेँ । किनकि मलाई सहर हेर्नु थियो, खाली सडक हेर्नु थियो, बन्द गरिएको पब र ताजा हावा लिनु थियो । तर सडकमा कोही थिएनन्, कस्तो फरक खालको अनुभव ! म राम्ररी हिँड्न पनि सकिरहेको थिइनँ, धेरै दिन हलचल नभएर होला मासंपेशी दुखिरहेको थियो ।
घर आएर धेरै बेरसम्म रोएँ । म केही समय त सुतको सुतै भएँ । दिमागमा जोखिम अझै पनि हुन्छ होला भन्ने भान पर्दो रहेछ । म अहिले नेल्सन मण्डेलालाई अझै प्रशंसा गर्न थालेको छु । उनी २७ वर्ष जेल बसे तर निस्किँदा झन् मजबुत बनेर निस्के ।
म आशा गर्छु, यो संकटले धेरै ठाउँका राजनीतिक संकटलाई समाधान गर्नेछ । यो एउटा भ्रममात्रै पनि हुन सक्छ, तर हामीले पोलियो खोप अभियानका क्रममा कैयौं युद्ध रोकिएको देखेका छौं ।
मलाई जहिल्यै पनि भाइरसप्रति सम्मान छ, जुन अझै हराएको छैन । मैले जिन्दगीको धेरै समय एड्स भाइरससँग लडेँ । हामी जहिल्यै पनि यी सबलाई रोक्ने प्रयास गरिरहेका हुन्छौं । मेरो शरीरमा भाइरस प्रवेश गरेसँगै भाइरसलाई फरक तरिकाले हेर्न थालेको छु । मलाई थाहा भयो यसले मेरो जीवन परिवर्तन गर्नेछ, जबकि भाइरसँगको भिडन्त भइसकेको छ । म झन् जोखिममा छु जस्तो लाग्छ ।
एक सातापश्चात् अस्पतालबाट डिस्चार्ज हुँदा मलाई श्वासप्रश्वासमा समस्या देखियो । फेरि अस्पताल जानुपर्ने भयो तर भर्ना नै हुनुपर्ने गरी उपचारको आवश्यकता थिएन । मलाई फोक्सोमा समस्या देखिएको थियो अनि निमोनिया पनि । यसलाई ‘साइटोकिन स्टर्म’ भनिन्छ । यो समस्या रोग प्रतिरोधात्मक क्षमता कम हुँदा झन् बढ्ने रहेछ । धेरै मानिस तन्तु नष्ट भएपछि मर्दैनन् बरु रोग प्रतिरोधी प्रणालीले बढी प्रतिक्रिया दिँदा असर गर्ने गर्छ। ती प्रतिरोधी प्रणालीले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाउँछन्, यसमा अन्योल हुँदा मानिसको मृत्यु हुन्छ । म अझै पनि उपचार गराइरहेको छु । कार्टिकोस्टेरोइडको हाई डोज लिइरहेको छु, जसले इम्युन सिस्टमलाई सुस्त बनाउँछ । त्यो लक्षण पहिल्यै मसँग थियो भने कोभिड देखिँदा म बाँच्दिनथे । मेरो मुटुको धड्कन मिनेटको १७० पटक थियो । यसलाई थेरापीबाट नियन्त्रणमा ल्याइन्छ, ब्लड क्लोट तथा स्ट्रोक नहोस् भनेर ।
धेरैले सोच्छन्, कोभिडले १ प्रतिशत संक्रमितलाई मार्छ र अरुलाई भने फ्लुजस्तो लक्षण देखिन्छ । तर कथा भने अलि जटिल नै हुन्छ । धेरै मानिसमा यसले क्रोनिक किड्नी र मुटुको समस्या गराइदिन्छ । उनीहरुको न्युरल सिस्टममा अवरोध पुर्‍याइदिन्छ । विश्वभर यस्ता हजारौं संक्रमित हुनेछन् जसलाई जीवनभर मिर्गौलाको डायलसिस गराइराख्नुपर्ने पनि हुन सक्छ ।
हामी कोरोना भाइरसबारे जति जान्न खोजिरहेका हुन्छौं त्यति नै प्रश्नहरु उब्जिरहेका हुन्छन् । हामी यात्रा गर्दै सिकिरहेका हुन्छौं । कहिलेकाहीँ म क्रोधित पनि हुन्छु, जसले कुरै नबुझी वैज्ञानिक र नीति निर्माणकर्ताहरुलाई गाली गरिरेहका हुन्छन् । महामारी रोक्न सकिरहेका छैनन् भनिरहेका हुन्छन् । यो एकदम गलत हो ।
आज सात सातापछि मलाई आफ्नै स्वरुपमा पाएजस्तो महसुस भइरहेको छ । मैले घर छेउको टर्किस ग्रिनग्रोसरबाट मगाएको सेतो कुरिलो खाएँ । म बेल्जियमको किरबेर्गेन भन्ने ठाउँको हुँ, जहाँ कुरिलो खेती गरिन्छ ।
मेरो फोक्सोको एक्सरे अन्ततः राम्रो देखिएको छ । यही खुसीयालीमा धेरै समयपछि बोतलको वाइन खोलेँ र सेलिब्रेट गरेँ । मलाई फेरि काममा फर्किन मन छ, भलै मेरो कामको चाप केही समय कम हुन्छ । मैले भोन डेर लेयनको कोभिड-१९ का लागि आर एन्ड डी (अनुसन्धान र विकास) मा विशेष सल्लाहकारको रुपमा काम थालेँ । यो आयोग खोपको विकासको सहायतामा लागि परिराखेको छ ।
जबसम्म कोरोना भाइरसको खोपको विकास हुँदैन तबसम्म हामी सामान्य रुपमा फेरि बाँच्न सक्दैनौं । यो महामारी अन्त्यको रणनीति भनेको विश्वभर खोपको उपलब्धता हो । यो भनेको बिलियन डोजहरु उत्पादन गर्नु हो, जुन आफैमा चुनौतीपूर्ण छ । अहिले पनि खोप बन्न सम्भव छ कि छैन भनेर यकिन गर्ने अवस्था छैन ।
आज पनि एउटा विरोधाभास देखिन्छ, केही मानिस खोप नलगाई बाँचिरहेका हुन्छन् । उनीहरुले आफ्ना बालबच्चालाई पनि खोप लगाउँदैनन् । कोरोना भाइरसविरुद्धको खोप सबैतिर पुर्‍याउनुछ भने समस्या आउन सक्छ । किनकि धेरै मानिसले खोप लगाउन इन्कार गर्न सक्छन् । यस्तो भयो भने त महामारी कहिल्यै पनि नियन्त्रणमा ल्याउन सकिन्न ।
म आशा गर्छु, यो संकटले धेरै ठाउँका राजनीतिक संकटलाई समाधान गर्नेछ । यो एउटा भ्रममात्रै पनि हुन सक्छ, तर हामीले पोलियो खोप अभियानका क्रममा कैयौं युद्ध रोकिएको देखेका छौं ।
डब्लूएचओले कोभिडविरुद्ध लड्न सराहनीय काम गरिरहेको छ । यसलाई अझ कम कर्मचारीतन्त्रमुखी र सल्लाहकार समितिमा कम निर्भर बनाउँदै सुधार गर्न सकिन्छ । डब्लूएचओलाई प्रायः राजनीतिक खेलमैदान बनाइएको छ ।
म जन्मजातै आशावादी व्यक्ति हुँ । अहिले म मृत्युको सामना गरिरहेको छु तर वाहियात र बकवास कुराप्रति मेरो सहनशीलताको स्तर पहिलेभन्दा तल पुगेको छ । त्यसैले अहिले म बिरामी हुनुपूर्वभन्दा शान्त छु । उत्साह बोकेर होसियारीपूर्वक अघि बढिरहेको छु 

Labels:

Thursday, May 14, 2020

धेरै प्याटेन्ट दर्ता गराउनेमा ओप्पो पाँचौ स्थानमा

काठमान्डाै‌ । विश्व इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन (वाइपो) ले प्याटेन्टको अपरेसन ट्रिटी (पीसीटी) को सन् २०१९ को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा मोबाइल उत्पादक कम्पनी ओप्पो पाँचौं स्थानमा पर्न सफल भएको छ ।
कम्पनीले सन् २०१९ मा मात्रै १९२७ पीसीटी फाइल दर्ता गराएको छ । उक्त सूचीमा ४४११ वटा पीसीटी फाइल दर्ता गराउँदै ह्वावे पहिलाे स्थामा रहेकाे छ । त्यस्तै मित्सुबिसु, सामसङ इलेक्ट्राेनिक्स, क्वालकम र ओप्पो क्रमस: दाेस्राे, तेस्राे, चाैथाै‌ं र पाँचाैं स्थानमा रहेका छन् । उनीहरुले क्रमश: २६६१, २३३४, २१२७ र १९२७ पीसीटी फाइल दर्ता गराएका छन् ।
१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तर्राष्ट्रिय ट्रिटी, पीसीटी मातहत एउटा अन्तर्राष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराए बापत निवेदकले विभिन्न देशहरुमा आफ्ना आविष्कारको सुरक्षा गर्नसक्छन् ।यसअघि ओप्पो उक्त सूचीको १७ औं स्थानमा रहेको थियो ।
कम्पनीका अनुसार सन् २०२० को मार्च महिनासम्ममा ओप्पोले ४३ हजार प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने , १६ हजार निवेदन प्रमाणीत भइसकेका छन् । समग्र निवेदन मध्ये झण्डै ८८ प्रतिशत आविष्कार सम्बन्धी रहेका छन् । ओपोले तीन हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ ।
यस्तै, एक हजार ९ सय एआई प्याटेन्ट निवेदन समेत उसले दर्ता गराएको छ । त्यसैगरी कम्पनीले ६ हजार एक सय ईमेज प्याटेन्ट दर्ता गराइसकेको छ । जसमध्ये दुई हजारले आधिकारिकता प्राप्त गरिसकेका छन् । कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गत पनि दुई हजार सात सय भन्दा बढी निवेदन दर्ता गराइसकेको छ । जसमा एक हजार एक सय प्रमाणीत भइसकेको उल्लेख गरिएको छ 

Labels:

Monday, May 11, 2020

नेपाली चेली कन्चन अमात्यलाई लन्डनमा शाही सम्मान साथ मानवता सेवा पुरस्कार

काठमाडौँ जावलाखेल भै हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ ।
उनलाई बेलायती शाही परिवारद्वारा उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मुल्यांकन गर्दै उनलाई उक्त सम्मान गरिएको हो । बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान पाइने उच्च पुरस्कार हो ।
उक्त पुरस्कार १९ वटा अन्य राष्ट्रहरुका व्यक्तिहरुलाई अमात्य सहित सम्मान गरिएको छ ।

जसमा बेलायत,क्यानाडा,मलेसिया,नाईजेरिया,तान्जेनिया र भारत समेत रहेका छन् ।
उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन्। गत बर्ष २०१९ मा अमात्यले डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भै सकेकी थिइन् ।
उक्त पुरस्कार कन्चन अमात्यकि आमा कृष्ण अमात्यले ग्रहण गर्नु भएको थियो ।
आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा(कन्चन) पाएकोमा अत्यन्त गर्व गर्छु भन्नु भएको छ । कन्चनले उक्त पुरस्कार अन्तरराष्ट्रिय आमा दिवसको अवसरमा म यो पुरस्कार विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् ।
र जसले सबै कठिनाइहरूको बाबजुद पनि – मेरो उत्तम पालनपोषण सम्भव भएको जनाएकी छिन् ।

Labels: