Monday, December 19, 2022

एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव – प्रचण्ड प्रधानमन्त्री बन्नुस्

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा धेरै दलको समर्थन लिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुलेको छ ।


दलहरूबीच सहमति जुटेको खण्डमा अबको सात दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने छ । संसद्को सबैभन्दा ठूलो दलको नेता भएकाले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पहिलो सम्भावना रहेको छ ।


त्यसैगरी, सत्तारुढ गठबन्धनका नेता मात्र नभएर निर्णायक शक्ति भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दोस्रो सम्भावना रहेको छ ।


तर, सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको खण्डमा कांग्रेस–एमाले वा एमाले–माओवादी सहकार्यमा सकार बन्ने अर्को सम्भावना पनि रहेको छ । त्यस्तो अवस्थामा केपी ओली वा प्रचण्ड मध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।


वर्तमान सत्तारुढ गठबन्धनबीच भएको पछिल्लो सहमतिलाई आधार मान्दा गठबन्धनकै सरकार बन्ने सम्भावना धेरै देखिन्छ । तर, ‘पावर शेयरिङ’को सन्दर्भमा मतभेद बढेको खण्डमा साता दिनमा वर्तमान सत्ता गठबन्धन नै नरहने खतरा पनि रहन्छ ।


कांग्रेस र माओवादीबीच प्रधानमन्त्री र राष्ट्रपति लिनेदिने विषयमा सघन छलफल चलिरहेको छ । त्यसैगरी, पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने ? भन्ने सन्दर्भमा पनि छलफल जारी छ ।


अहिलेसम्म कसले पहिलो कार्यकालको प्रधानमन्त्री पाउने र कसले राष्ट्रपति पाउने भन्ने सन्दर्भमा निचोडमा पुग्न सकेका छैनन् । तर, राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेकाले अबको केही दिनमै कांग्रेस–माओवादीबीच सहमति जुट्नुपर्ने हुन्छ ।


सरकार गठन माओवादीमा निर्भर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको पूर्वसन्ध्यामा गोरखाबाट भनेका थिए– ‘हामी तेस्रो तर निर्णायक शक्ति बन्छौँ ।’


मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको मतपरिणामले माओवादीलाई साँच्चिकै निर्णायक र शक्तिशाली शक्तिको रूपमा उभ्याएको छ । जता गए पनि माओवादीको चाहनामा सरकार बन्ने भएको छ ।


माओवादी जुन गठबन्धनमा गए पनि सरकार गठनका लागि दुई मतको मात्र अभाव हुने भएको छ । माओवादीले जुन गठबन्धनलाई समर्थन गर्यो सोही गठबन्धनको सरकार बन्ने देखिन्छ ।


सत्ता गठबन्धनको गणित

सत्ता गठबन्धको सबैभन्दा ठूलो दल कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको छ । त्यसैगरी, माओवादीले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ पाएको छ भने गठबन्धनमा आवद्ध एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादीले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ ।


यस आधारमा वर्तमान गत्ता गठबन्धनको कुल मत १३६ हुन्छ । बहुमतको सरकार गठनका लागि १३८ मत आवश्यक हुन्छ । यस्तो अवस्थामा गठबन्धनलाई सरकार गठनका लागि २ मत कम हुन्छ । केही स्वतन्त्र वा साना दललाई साथ लिए गठबन्धनको सरकार गठन हुन्छ ।


एमाले गठबन्धनको गणित

एमाले नेतृत्वको गठबन्धनमा जसपा र राप्रपा छन् । एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ । जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सिट पाएको छ । त्यसैगरी राप्रपाले प्रत्यक्ष र समानुपातिकमा ७–७ सिट पाएको छ ।


यस आधारमा कुल १०४ सिट होल्ड गर्ने एमाले गठबन्धलाई सरकार गठन गर्न ३४ सिट आवश्यक हुन्छ । यस्तो अवस्थामा एमालेलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न सहज छैन । तर, एमाले गठबन्धनमा माओवादी आए कांग्रेसलाई जस्तै एमालेलाई पनि सहज हुने छ ।


एमाले गठबन्धनको कुल मत १०४ हो । यसमा माओवादीको ३२ मत जोड्दा १३६ हुन्छ । यस्तो अवस्थामा भने एमाले नेतृत्वमा सरकार गठनका लागि कांग्रेस नेतृत्वकै जस्तो २ मत अपुग हुन्छ । तर, एमाले गठबन्धनमा जसपा पनि रहन आवश्यक छ ।


यहाँ पनि केही स्वतन्त्र वा साना दलको समर्थन लिएर एमाले–माओवादी सहकार्यमा सरकार गठन गर्न हुन्छ । तर, त्यसका लागि एमालेसँग सहकार्य गर्न माओवादी तयार हुनुपर्ने हुन्छ ।




0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home