Thursday, December 15, 2022

प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना

 माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख गठबन्धनका प्रमुख तीन दलले लिनुपर्ने मत समाजवादीको छ ।

समीक्षा, कार्यविभाजन र साझा नीति तथा कार्यक्रम टुंग्याउने तयारी गठबन्धनको छ । स्रोतका अनुसार सत्तागठबन्धनका प्रमुख दलहरूबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति निर्वाचनअघि नै भइसकेको छ ।

माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका एक्ला दाबेदार छन् । राष्ट्रपतिमा भने वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान सभामुख अग्नि सापकोटा र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा दाबेदार छन् । उपमहासचिव शक्ति बस्नेतले शक्ति बाँडफाँडको विषय टुंगिन बाँकी रहेको बताए । ‘गठबन्धनबाट सरकार बनाउँदा ठूलो–सानो भन्ने कुरा हुँदैन । कर्णाली प्रदेशमा कांग्रेस तेस्रो पार्टी थियो, तर कर्णालीमा गठबन्धनका कारण कर्णालीको मुख्यमन्त्री बन्न सम्भव भयो । गठबन्धनबाट बन्ने हो,’ उनले भने ।

माओवादी महासचिव देव गुरुङले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दुईमध्ये एक प्रचण्ड रहेकाले देशको नेतृत्वमा दाबी रहनु स्वाभाविक रहेको बताए । ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । अर्का एक हस्ताक्षरकर्ताको नाताले हाम्रो पार्टीको अध्यक्षको दाबी स्वाभाविक हो । त्रिशंकु संसद् भएकाले गठबन्धनमा छलफलको आधारमा टुंगो लाग्छ,’ उनले भने ।


सरकार बनाउने तयारीस्वरूप दलहरूबीच भेटघाट र छलफल भइराखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् । माओवादी महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग मंगलबार बेलुका छलफल गरेका छन् । उनले सामान्य छलफल भएको र सत्ता समीकरणबारे कुराकानी नभएको दाबी गरे ।

एकीकृत समाजवादीबाट राष्ट्रपतिमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दाबेदार छन् । अध्यक्ष नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ । तर, नेपाल स्वयंले राष्ट्रपतिमा आफ्नो दाबी प्रस्तुत गरेका छैनन् । सभामुखमा उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । स्थायी कमिटी सदस्य भानुभक्त जोशी पनि दाबेदार छन् । ‘दलहरूबीचको छलफलबाट सबै विषय टुंगो लाग्छ । गठबन्धनका मुख्य तीन दलले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिँदा स्वाभाविक हुन्छ भन्ने हाम्रो धारणा छ,’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने ।








Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home