Wednesday, July 22, 2020

गगन थापाले भने – चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् । महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उनको भनाइ छ ।
देशान्तर रेडियोलाई बुधबार बिहान अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गरे । ‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको छ, केही दिनपछि यसको रिजल्ट आउँछ,’ उनले भने ।


उनले पार्टीमा परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताए । ‘यो महाधिवेशनमा म सभापति लड्न पनि सक्छु । कसैलाई सघाउन पनि सक्छु,’ थापाले भने । अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफूलाई उडाएको स्मरण गर्दै अहिले पनि सभापति लड्छु भन्दा सवैलाई त्यस्तै लाग्नु स्वाभाविक भएको पनि उनले बताए ।
आफू पार्टी सभापति भएमा पार्टीका सबै संरचना फेर्ने उनले बताए । आमचुनावमा पार्टीले हार बेहोरेमा नैतिकताका आधारमा राजीनामा दिने व्यवस्था गर्ने उनको भनाइ छ ।
‘पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्छ, यसले नयाँ नेतृत्व आउन मद्दत गर्छ, यदि मेरो नेतृत्वमा २०७९ को आमचुनावमा पार्टी पराजित भए सभापतिबाट म राजीनामा दिन्छु, यसले अर्को सक्षम नेतृत्व आउन सहयोग पुग्छ,’ उनले भने ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home