Saturday, July 11, 2020

ओलीलाई नहटाएसम्म वार्ता नगर्ने भारतको धम्की

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री पदमा रहेसम्म भारतले नेपालसँग वार्ता नगर्ने धम्की पठाएको छ ।
उच्च राजनीतिक स्रोतहरुका अनुसार भारतले प्रधानमन्त्री ओली हट्नुपर्ने सर्त क्रमश खुलेरै अगाडि बढाउन थालेको छ ।

आफ्नो अतिक्रमित भूमि समेटेर नेपालले नयाँ मानचित्र जारी गर्नु पहिले देखि नै भारतले प्रधानमन्त्री ओलीको सरकार ढाल्न प्रयास गर्दै आएको थियो । मानचित्र जारी भएपछि तथा देशहितको पक्षमा नागरिकता विधेयक ल्याइएपछि भारतले खुलेआम सरकार ढाल्ने प्रयास थालेको हो ।
भारतीय खुफिया एजेन्सीका प्रमुखहरु नै काठमाडौंमा गोप्य रुपमा आएर सरकार ढाल्ने खेलमा सामेल भइरहेका छन् । नेकपाको स्थायी समितिलाई प्रयोग गरेर भारतले केपी ओलीलाई हटाउन खोजेको आशंका गरिँदै आएको छ । तर, नेकपाका स्थायी समिति सदस्यहरुले भारतको प्रयास असफल पारिदिने प्रष्ट भइसकेको छ ।
ओली सरकार ढाल्ने प्रयास असफल हुने देखिएपछि भारतले अर्काे चाल चल्न लागेको हो । उसले केपी ओलीले प्रधानमन्त्री पद नत्यागेसम्म वार्ता नै नगर्ने सन्देश दिन थालेको छ ।
भारतले एक कूटनीतिक नोट पठाएर नेपालले संविधान संशोधन गरेर अपनाएको नयाँ नक्सालाई अस्वीकार गरेको जनाइसकेको छ । अब कुरा यतिमा मात्र सीमित नहुने भएको छ, भारतले केपी ओली प्रधानमन्त्री पदबाट हट्नुपर्ने माग घुमाउरो पाराले उठाउन थालेको उच्च राजनीतिक स्रोतहरुले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी ओली निकट एक नेताले सनराइज खबरलाई भने– ‘उहाँहरु (भारत)ले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हट्नुपर्छ भन्ने सन्देश दिन थाल्नुभएको छ । उहाँहरुले यो सन्देश आगामी दिनमा अझ प्रष्टसँग दिनुहुने हाम्रो आकँलन छ ।’सनराइज खबरवाट

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home