Monday, May 25, 2020

भ्रममा नपर्नुस्, राजाका तस्वीर भएका नोट चल्छन्

राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधन सम्वन्धमा दिएको निर्देशनलाई लिएर कतिपयले गलत व्याख्या गरिदिए।

अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने भनी केही अनलाइनले समाचार बनाइदिए। त्यही विषयलाई लिएर राष्ट्र बैंकले सोमबार थप प्रष्ट पार्दै अर्को विज्ञप्ति निकाल्यो।
साथै राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको राष्ट्र बैंकले जनाएको छ।
राजाको तस्वीर अंकित नोटहरु नचल्ने भन्ने हल्ला गलत भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। यद्यपी त्यस्ता नोटहरु राष्ट्र बैंकले केही वर्षदेखि नै खिच्दै आएको छ।
बैंकहरुमा संकलन भएका त्यस्ता नोटहरु राष्ट्र बैंकले खिचेपछि पुनः बजार पठाउन छोडेको १० वर्षभन्दा बढी भैसक्यो।
अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन नयाँ होइन। बैंकहरुले राजाका तस्वीर अंकित नोट सर्वसाधारणबाट लिन्छन्, तर त्यस्ता नोट सर्वसाधारणलाई दिँदैनन्। यो व्यवस्था बैंकहरुले केही वर्ष पहिलेदेखि नै गर्दै आएको प्रवक्ता भट्टले जानकारी दिए।
‘राजाको तस्वीर अंकित नोटका सम्वन्धमा गरिएकाे व्यवस्था नयाँ होइन, मात्र बैंकबाट रिलिज हुँदैनन्, जुन पहिलेदेखि नै हुँदै आएकाे हाे’ ।
यदी सर्वसाधारणसँग यस्ता नोट छन् भने बैंकहरुमार्फत पहिले पनि सटही गर्न पाउँथे, भोलि पनि पाउँछन् तर बैंकहरुबाट यस्ता नोट माग्न सक्दैनन्।कतिपयले यस्ता नोट संग्रह गरेर राखेका हुन सक्छन्, तर बजारमा प्रचलनमा हराइसकेको छ। प्रचलनबाट राजा अंकित तस्वीरका नोटहरु हटाउँदै जाने लक्ष्य लिइएको राष्ट्र बैंकले जनाएको छ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home