Saturday, July 11, 2020

नेकपा विवाद : चेपुवामा प्रचण्ड !

काठमाडौँ/सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्तिसंघर्ष केही मत्थर जस्तो देखिएपनि कैयौं कोशिशका बाबजुद जहाँको तहिं अड्किएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै साउन २ गतेसम्मलाई पुगेको छ ।

स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेसँगै सुरु भएको विवाद पुनः पुरानै बिन्दुमा आइपुगेको हाे । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको कैयौं चरणको ‘वान टु वान’ बैठकले पनि कुनै समाधान दिन सकेको छैन् । दुबै पक्ष आ-आफ्नै अडानमा कायम छन् ।
यता ओली इतर समूहलाई समेत नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिएका नेताहरूले ओलीलाई जसरी पनि विस्थापन गर्नुपर्ने भन्दै प्रचण्डमाथि दबाब दिरहेका छन् । अहिले ओलीलाई हटाउन नसकिए अब हटाउन नसकिने निष्कर्ष निकालेका यो समूहका वरिष्ठ नेताहरूले प्रचण्डलाई ओली हटाउने अभियानको नेतृत्व लिन दबाब नै दिइरहेका छन् । अर्कोतिर प्रधानमन्त्री ओलीले सबैलाई कार्वाही गरेर देखाउन चुनौती नै दिएका छन् ।
वरिष्ठ नेता खनाल, नेपाल र उपाध्यक्ष गौतमले स्थायी कमिटीको बैठकबाटै समाधान खोज्ने भन्दै बैठक स्थगित नगर्न दबाब दिइरहेका छन् । तर, कार्यकारी अध्यक्ष प्रचण्ड भने बहुमतको बलमा निर्णय गरेर जाँदा पार्टी फुटको अपजस बेहोर्नुपर्ने तथा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पद वा दुबैमध्ये कुनै एक पनि नछाड्दा ओलीसामू आत्मसमर्पण गरेको ठहरिने हुनाले दोहोरो चेपुवामा परेका हुन् ।
अर्कोतिर पछिल्लो समय भारतीय मिडियाको अनर्गल प्रचारले पनि प्रचण्डलाई अप्ठ्यारो स्थितिको सिर्जना गरेको छ । ओलीलाई भारत विरोधी देखाएका भारतीय मिडियाले ओलीको विरोधिलाई भारतीय पक्ष अनुकुल देखाएका छन् । यसले पनि दुबै पदबाट ओलीलाई अहिले विस्थापित नै गरियो भने पनि पार्टी फुटेको वा नफुटेको दुबै अवस्थामा ओलीको राष्ट्रवादको चेपुवामा आफू पर्ने डर प्रचण्डलाई छ । यही भएर पनि स्थायी कमिटी बैठकमा धेरै साथिहरुले दुबै पदबाट राजिनामा माग्नु भएको छ । कम्तीमा एक पदबाट राजिनामा दिनु भनेर ओलीलाई आग्रह गरिरहेका मात्रै छन् । त्यो भन्दा कुरा अगाडि बढेको छैन् ।
पार्टी अध्यक्ष पदबाट राजिनामा दिंदा पार्टीको एकता प्रक्रिया नै सकिने बताएका ओलीले प्रधानमन्त्रीकाे पद कुनै मूल्यमा छाड्न नसकिने स्पष्ट पारेका छन् । पार्टीको बागडोर प्रचण्डलाई सम्हाल्न समेत अमेरिकी विकास सहायता एमसीसी पास गर्न सहमत भए मात्रै पार्टी सञ्चालनको अधिकार दिन सकिने ओलीको भनाइ छ । पूर्व एमाले भित्रको विवादमा खेलेर शक्तिशाली देखिएका प्रचण्ड अहिले पूर्व एमालेको अन्तरविरोधको चेपुवामा परेका छन् । पूर्व माओवादी समूहले ओली हटाउने वा राख्ने कुरामा दुबैमा सहमत हुनसक्ने परिस्थिति छ तर, पूर्व एमालेकाे एक पक्षले अर्को पक्षालाई स्वीकार गर्न नसक्ने परिस्थितिका कारण पनि प्रचण्ड चेपुवामा परेका हुन् ।
पार्टी भित्रका दोस्रो तहका नेताहरूले समेत पार्टीलाई फुटबाट बचाउन भन्दै पार्टी एकता कायम राख्नको लागि दबाब दिएका छन् । प्रधानमन्त्री ओली सितिमिति कसैको कुरा सुन्नेवाला छैनन् । यसको चेपुवा पनि प्रचण्ड नै परेका छन् । अहिले प्रचण्ड उनी आफैले भन्ने गरेको उनी हिड्ने पुरानो बाटो ध्वस्त गरिसके फर्किन सक्दैनन् अगाडि बढ्ने हिम्मत गर्न सकेका छैनन् । अब प्रचण्ड अगाडि बढ्छन वा पछाडि फर्कनछ्न् त्यसैले नै नेकपा विवादको समाधान कसरी हुन्छ भन्ने स्पष्ट हुनेछ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home