Thursday, May 4, 2023

बिहे व्रतबन्ध लगायतका कारण माग बढ्दा काठमाण्डौमा गोलभेँडाको भाउ बढ्यो

 काठमाण्डाै - बिहे व्रतबन्धका कारण काठमाण्डौमा गोलभेँडाको भाउ बढेको छ ।



माग अनुसार गोलभेँडाको आयात नहुँदा भाउ बढेको काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अघिल्लो हप्ता थोक बजार कालीमाटीमा किलोको १५ देखि २० रुपैयाँसम्म कारोबार भएको गोलभेँडा अहिले किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य छ ।


समितिका उपनिर्देशक एवं सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो हप्ता गोलभेँडाको माग निकै बढेको छ । दैनिक भान्छामा अचार र तरकारीमा समेत प्रयोग हुने भएकाले अन्य तरकारी भन्दा गोलभेँडाको धेरै कारोबार हुने गर्छ । होटल रेष्टुरेन्टमा पनि गोलभेँडाको माग धेरै हुन्छ । यो हप्तादेखि विवाह र व्रतबन्धको लगन समेत सुरु हुन थालेकाले गोलभेँडाको माग बढेको श्रेष्ठले बताउनुभयो ।


स्वदेशी उत्पादनले अहिले माग धानेको छैन । अहिले भारतबाट पनि गोलभेँडाको आयात नबढेकाले भाउ बढेको समितिका उपनिर्देशक एवम् सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ७० देखि ८० टन गोलभेँडाको कारोबार हुने गरेको छ ।


काठमाण्डौ उपत्यकासँगै, धादिङ, काभ्रे, चितवन, सर्लाहीलगायत ठाउँबाट गोलभेँडा भित्रिने गरेको छ । यस्तै, पहिले पहिले भारतबाट धेरै भित्रिने गरेकोमा अहिले अनुपात घटेको समितिले जनाएको छ । 

:-  उज्यालो अनलाइन बाट साभार।

Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home