Thursday, May 4, 2023

‘अमेरिका पठाउने भनेर पैसा लिएकाहरू ठग रहेछन्, लौ अब हाम्रो त जहाजै डुब्ने भयो, पैसा कसरी उठाउने, ऋण कसरी तिर्ने ?’

 काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै पैसा धुत्ने गिरोह र मिलिभगत गर्ने शक्तिमानहरू एक–एक गरी पक्राउ पर्न थालेपछि उनीहरूको घरमा भन्दा बढी पीडा पीडितकै परिवारमा छ । ‘अमेरिका पठाउने भनेर पैसा लिएकाहरू ठग पो रहेछन्, लौ अब हाम्रो त जहाजै डुब्ने भयो, पैसा कसरी उठाउने, ऋण कसरी तिर्ने ?’ पीडितका घरघरमा यही प्रश्न छ ।


गिरोहका नाइके केशव दुलालको समूह एक महिनाअघि पक्राउ परेपछि नै झापाको केचनाकवल निवासी वासु भट्टराईको भोक, प्यास र निद्रा हराएको छ । सामान्य खेतीकिसानी र मेची वारपार बन्दव्यापार गरेर जीवन गुजारा गरिरहेका वासुले छोरा सन्तोषलाई अमेरिका उडाउने आसमा गिरोहलाई १० लाख बुझाएका थिए, त्यो पनि ४ वर्षअघि । त्यसयता उनले यो विषयमा गतिलो खबर सुनेका छैनन् । अहिले त उनको मनमा पहिरो नै गएको छ ।

‘कास्कीका रामशरण केसीलाई १० लाख बुझाएको ४ वर्ष भयो, उनीहरूले केही महिनापछि, केही सातापछि भन्दै झुलाए । तर, मुख्य नाइके केशव दुलाल र सानु भण्डारी पक्राउ परेपछि रामशरण पनि सम्पर्कमा छैनन्, अब त झन्–झन् ठूला मान्छे पक्राउ पर्न थाले, यो महाभारत कहिले सकिने हो, कहिले पैसा फिर्ता आउने हो ?’ उनी अत्तालिएका छन् ।


झापा, केचनाका श्यान(श्याम) भट्टराई र बादल श्रेष्ठ परिवारको अमेरिका जाने प्रक्रियाको फर्म ।

देशमा न शिक्षा, स्वास्थ्यको व्यवस्था छ न रोजगारीको । बरु छोरा अमेरिका गए भविष्य बन्ने थियो भनेर वासुले ऋण खोजेका थिए । त्यति मात्र होइन, नाम फेर्नुपर्ने सर्त आएपछि उनले छोरा सन्तोषको नाम श्याम बनाउन सहमति पनि दिएका थिए । शरणार्थी समस्या समाधान पहिल्याउन गृह मन्त्रालयबाट गठित कार्यदलको सचिवालयमा पुगेर श्याम (सन्तोष) ले ‘भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ’ भन्दै निवेदन पनि दर्ता गरेका थिए । निवेदनमा उनको घर भुटानको लामीडाँडा, चिराङ रहेको र हाल बेलडाँगीको शरणार्थी शिविरमा बसोबास रहेको उल्लेख थियो । यी सबै काममा गिरोहका सदस्य नै अग्रसर थिए ।


तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले तयार पारेको भनिएको प्रतिवेदनको अनुसूची ९(क) को नामावली सूचीमा १९४ नम्बरमा नाम छ– श्याम भट्टराई । यसरी सूचीमै नाम आएपछि अमेरिकी सपना साकार हुनेमा भट्टराई परिवार विश्वस्त थियो । तर, अहिले सबै सपना हुरीले उडाएजस्तै भएको छ ।


यस्तै, ताहाचलका श्यामकुमार श्रेष्ठले पनि गिरोहका सदस्य सानुराम भण्डारीलाई ६ लाख बुझाएका थिए । अझ उनले त श्रीमती विनिता र २ नाबालक छोराछोरी पनि अमेरिका पठाउने प्रलोभन पाएका थिए । कथित प्रतिवेदनमा शरणार्थी छुट दर्ता अनुसूचीको १९० नम्बरमा बादल श्रेष्ठको नाम छ, गिरोहले उनलाई यही नाम दिएको थियो । ‘भुटानी शरणार्थी बनेर अमेरिका जान पाइन्छ भनेपछि बैंकबाट पैसा जम्मा गरिदिएको थिएँ, नाम आएको पनि थियो,’ भन्छन्, ‘धेरै पछिसम्म आशा थियो तर अहिले न त्यो गिरोह सम्पर्कमा छ, न म आफैं केही गर्न सक्ने अवस्थामा छु ।’


अनामनगरका नुपु शेर्पाले पनि अघिल्लो वर्ष भदौ ३० मा गिरोहका सदस्य रामशरणलाई ५ लाख रुपैयाँ हातैमा दिएको बताए । उनलाई विश्वस्त बनाउन गिरोहले पूर्व नै बोलाएको थियो । ‘इटहरीको गोकुलम् रिसोर्टभित्र लगेर मलाई भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ भन्ने निवेदनमा सहीछाप गराइएको थियो,’ शेर्पा सम्झन्छन् ।


पन्थी कार्यदल प्रतिवेदनको छुट दर्ता नक्कली अनुसुचीमा श्यानको नम्बर १९४ र बादलको १९० ।


गोकुलम् रिसोर्टलाई नै मूल मुकाम बनाएर केशव दुलाल, सानु भण्डारीसहितका स्थानीय एजेन्टहरू अमेरिका जान पाइने आसमा नेपाल मात्र होइन, भारत पश्चिम बंगालको सिलिगुडी आसपासबाट आउनेसँग पैसा उठाउने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । ५ वर्षदेखि संगठित यो गिरोहले इटहरीको गोकुलम् रिसोर्ट, कलंकीको क्राउन इम्पेरियल र सानेपाको इन्टरनेसनल क्लबमा बसेर नक्कली कागजात बनाउने तथा पैसा असुलउपर गर्ने गरेको प्रमाण प्रहरीले प्राप्त गरेको छ । गृहले गठन गरेको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थपेर ८७५ जनाको नाम थपेको गिरोहले उनीहरूबाट रकम असुलेको थियो । पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहितबाट सहयोग पाएको यो गिरोहले नक्कली कागजातकै भरमा पैसा उठाइरहेको थियो ।


प्रलोभनमा सर्वसाधारणलाई फसाएर रकम असुल्दै हिँड्ने रामशरण केसी स्वयंले ‘आफू पीडकभन्दा बढी पीडित रहेको’ बताएका छन् । अर्का एजेन्ट प्रेमराज पन्थीसँगै कान्तिपुरको सम्पर्कमा आएका केसीले भने, ‘दुलाल र भण्डारीले भनेअनुसार मैले ३४ जना व्यक्तिबाट जनही १० लाख रुपैयाँका दरमा ३ करोड ४० लाख रुपैयाँ उठाएको हुँ । तर, यो पैसा सानु भण्डारीको खातामा जम्मा गरिसकेको छु, यसका सबै बैंकिङ कागजात र प्रमाण साथैमा छन् । पछि मैले पीडित व्यक्तिहरूको पैसा फर्काउन आफ्नै घर बन्धक राखेर सकेजति ऋण चुक्ता गरेको छु,’ उनले भने ।


गिरोहका नाइकले भागबण्डा लगाएर एजेन्टलाई पैसा उठाउन दिएको नामावली ।


गिरोहको एजेन्टका रूपमा काम गरेका प्रेमराज पन्थी र भेषराज शर्मा लम्सालले पनि दुलाल र भण्डारीकै निर्देशनमा पैसा उठाएको भए पनि तिनको ऋण चुक्ता गर्दा आफूहरू टाट पल्टिएको बताउँछन् । लम्सालले त गिरोहका नाइके दुलाल र भण्डारीले आफूबाट झन्डै ३ करोड ४० लाख रुपैयाँ असुलउपर गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुलाल, भण्डारी र अर्का मतियार दिवाकर बुढाथोकीका विरुद्ध उजुरी दिइसकेका छन् । केशवकी श्रीमती दीपा हुमागाईंका नाममा साटिएको चेक रकमको प्रतिलिपि पनि अनुसन्धानमा छ ।


यसरी गिरोहका एजेन्ट केसी, पन्थी र शर्माले नै ‘मर्का’ मा परेका दाबी गर्दा उनीहरूबाट पीडितहरूको अवस्था के होला ? अनुमान गर्न धेरै गाह्रो छैन । गिरोहले थपेको अनुसूचीमा नाम देखाएर पैसा असुल्न एजेन्टहरू जिल्ला–जिल्ला गएका थिए । आफ्नो भागमा परेका ३२ जनाबाट ५ लाखदेखि माथि जति पनि उठाउन सकिने भनेर काठमाडौंमा रामशरण केसी र कास्कीमा प्रेमराज पन्थी, भेषराज लम्सालसहित खटिएका थिए । ‘मेरा नाममा आएको नामावलीको सूची बोकेर पैसा असुल्न उनीहरूले आइडिया दिएका थिए,’ केसीले आफ्नो भागमा परेको नामावली पनि कान्तिपुरलाई देखाए ।


प्रतिवेदन


केसीका अनुसार दुलालहरूको गिरोह कहिले हिमालय होटल, कहिले र्‍याडिसन होटलमा बसेर कम्तीमा सिभास रिगल ह्वीस्की पिउँदै संकलित कागजातमाथि छलफल गर्थे । ‘सुजातालाई भेट्छौ कि टोपबहादुरलाई ?’ दुलालको भनाइ सुनाउँदै म्याग्दीका तुलबहादुर पुन भन्छन्, ‘मैले पनि ५० जति गाउँलेबाट पैसा उठाएँ, एक जनाबाट १० देखि १५ लाख रुपैयाँसम्म उठाएको छु, त्यो पैसा सानु भण्डारीलाई पठाएको छु ।’


कास्कीका प्रेमराज पन्थी पनि यस्तै नामावलीका भरमा आफूले पैसा उठाएर दुलाल र भण्डारीलाई पठाउने गरेको बताउँछन् । कहिले सिंहदरबारभित्र बैठक बसेको र कहिले बालुवाटारकै भेलाको फोटो पठाएपछि यिनीहरूको ‘कनेक्सन’ बलियो रहेछ भन्ने बुझेर पैसा उठाएको उनी बताउँछन् । फागुन २७ सम्म पनि अमेरिका उडाइदिने भन्दै उनीहरूले सर्वसाधारणबाट रकम असुलिरहेका थिए ।


अहिले हिरासतमा भएका गिरोहका नाइकेहरूमा अझै पनि आत्मबल देखिन्छ । मोरङ, पथरीबाट आएका एक पीडित नाइके सानु भण्डारीलाई भेट्न मंगलबार कालीमाटी प्रहरी सेल पुगेका थिए । ‘के चिन्ता गर्नुहुन्छ, हामी २/४ दिनमै छुट्छौं । सब सेटिङ मिलिसक्यो । सबैको हिसाबकिताब मिल्नेछ, चिन्ता नगर,’ उनले यही भनेर फर्काइदिए । एक महिनायता उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलाल, भण्डारीसहित टंक गुरुङ, सागर थुलुङ राई, सन्देश शर्मा पोखरेल, इन्द्रजित राई, सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । यस्तै इन्द्रजित राईका छोरा नीरज र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबारसम्म पीडितका तर्फबाट २० वटा किटानी जाहेरी परेका छन्, यी उजुरीअनुसार मात्र पनि २४ करोड रुपैयाँको ठगी भएको छ । अरू ८७५ जनाको नामै तयार पारिएकाले उजुरी आउने क्रम जारी छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home